सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको विवादित नागरिकतासहित १२ वटा अध्यादेश राष्ट्रियसभामा पेस गर्ने तयारी
भोलि (बिहीबार) सुरु हुने राष्ट्रियसभाको आठाैं अधिवेशनअन्तर्गतको पहिलो बैठकमा ती अध्यादेश पेस गरिन लागिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा भोलि दिउँसो ४ बजे अधिवेशन सुरु हुन लागेको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको आठौं अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धी र नेपाल नागरिकता पहिलो संसोधन अध्यादेश राखिएको छ।
यस्तै, सपथसम्बन्धी, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलामिलाप आयोग, नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा र तेजाब तथा अन्य घातक रासायनिक पदार्थसम्बन्धी अध्यादेश बैठकमा पेस गर्ने कार्यसूची छ।
यसैगरी, फौजदारी कसुर तथा फौजदारी कार्यविधि, यौन हिंसा विरुद्धका केही ऐनलाई संसोधन गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी, कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी र औषधी तेस्रो संसोधन अध्यादेश बैठकमा पेस गरिन लागिएको संसद सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्ने भएकाले शोक प्रस्तावलाई अन्तिममा राखिएको छ।
अधिवेशनअघि राष्ट्रियसभा सदस्य, संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिएको छ। बुधबार संसद भवनमा उनीहरूको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो। बैठकमा सहभागी हुन कोरोना रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ।
बैठकको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।
असार १६, २०७८ बुधबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।