वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न– देउवालाई प्रधानमन्त्री नियुक्त गरेको अवस्थामा विश्वासको मत पाउने आधार के ? 

वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न– देउवालाई प्रधानमन्त्री नियुक्त गरेको अवस्थामा विश्वासको मत पाउने आधार के ? 

काठमाडौं : वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको अवस्थामा विश्वासको मत पाउने आधारबारे प्रश्न गरेका छन्। 

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलका रूपमा बहस गर्दै उनले यस्तो बताएका हुन्। 

‘कुनै पनि निर्णय गर्दा आधार चाहिन्छ, त्यो निर्णय गर्दा तथ्य चाहिन्छ, जुन तथ्यको आधारमा निर्णय गरिन्छ त्यही तथ्य आधार हो,’ उनले भने, ‘विश्वासको मत आज छ भने त्यो भोलि भंग हुन सक्दैन। मानौ शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो यो दाबी अनुसार। उहाँले यो अनुसार विश्वासको मत पाउनुहुन्छ भन्ने आधारचाहिँ के ?’ 

साथै उनले धारा ७६ (५) अनुसार प्रधानमन्त्री हुनका लागि तथ्य नै विवादास्पद रहेको  बताए। उक्त धारा राजनीतिक दाउपेचका लागि प्रयोग गरिएको उनको आरोप छ। 

उनले अहिलेको संविधान अनुसार राष्ट्रपतिबाहेक अरु कसैलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार नभएको बताए। ‘चाहे धारा ७६ (१) को प्रधानमन्त्री होस् वा ७६ (५) को अनुसार। हाम्रो अहिलेको संविधान अनुसार राष्ट्रपतिबाहेक अरु कसैलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार दिएको छैन। यहाँ आधारको कुरा उठेको छ, त्यो ठोस आधार भनेको के हो ?’ उनले भने। 

असार १६, २०७८ बुधबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।