एमाले प्रवक्ता ज्ञवालीको ठट्टा : २०७५ जेठ २ पछि जन्मिएका बच्चा के हुन्छन्?
काठमाडौँ : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरेको छ। आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि गरिएको कारबाही निष्क्रिय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। पार्टीको दसौँ महाधिवेशन आयोजनाका लागि बनाइएको आयोजक कमिटीबारे सर्वोच्च अदालतले प्रश्न उठाएको भन्दै आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले स्थायी कमिटीमा ८ जना नेतालाई सदस्य बनाएको छ। प्रवक्ता ज्ञवालीका अनुसार नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त एमालेको स्थायी कमिटी सदस्य बनेका छन्।
यस्तै माओवादी परित्याग गरेर एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको ज्ञवालीले बताए।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुभन्दा अगाडि फर्किएको बताए। नेकपा एमाले हुँदा गरिएका निर्णयको स्वामित्व लिनु पर्ने उनको भनाई छ। उनले २०७५ जेठ २ मै फर्किने भने पनि त्यसपछि जन्मिएका बच्चाको के हुने भनेर प्रश्न गरे। उनले यसबिचमा भएका काम कारबाही शून्यमा नजाने बताए।
‘एउटा ठट्टा नै गरौँ २०७५ जेठ २ मै फर्किने हो भने त्यसपछि जन्मिएका बच्चाको के हुने?’प्रवक्ता ज्ञवालीले भने,‘५६ वर्षको थिए, ३ वर्ष पछि पनि ५६ वर्षकै भन्न त मिल्दैन होला।’ उनले पार्टी एकताका लागि अहिले गरेको निर्णय पर्याप्त रहेको दाबी समेत गरे।
असार १६, २०७८ बुधबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।