यात्रुसँग बढी भाडा लिने ८ जना पक्राउ, भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधनलाई कारबाही

यात्रुसँग बढी भाडा लिने ८ जना पक्राउ, भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधनलाई कारबाही

काठमाडौँ : ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई पक्राउ गरेको जनाएको छ।

काठमाडौँ बाहिर जाने यात्रुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्नेलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

पक्राउ पर्नेहरूमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिम बहादुर गाहा मगर, रुपन्देहीका वर्ष ३६ का दीप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन्। 

यस्तै बा १६ च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुरसम्म जाने यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षका राकेश रसाइली पक्राउ परेका महाशाखाले जनाएको छ। रसाइलीले प्रति यात्रुसँग ३ हजार रुपैयाँका दरले भाडा लिएका थिए। 

यस्तै चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षका झनक बहादुर घिमिरेलाई पनि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। घिमिरे ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन। 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिमा उपत्यका बाहिर जाने यात्रुहरूसँग तोकिएको भन्दा आठ गुणा बढी भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउन्टरका कर्मचारीहरूलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधनलाई कारबाही

काठमाडौँ उपत्यका बाहिरिने यात्रुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।

निजी नम्बर प्लेटका गाडीहरूले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ।महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भाडाका सवारी साधनहरूको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजी सवारी साधनहरूले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको जानकारी दिए।

उनले जोर बिजोर प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारबाही पनि सँगसँगै लगिएको बताए। 

असार १६, २०७८ बुधबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।