संसद् दिवसमा सभामुखको सन्देश : प्रतिनिधिसभा विघटन असंवैधानिक 

संसद् दिवसमा सभामुखको सन्देश : प्रतिनिधिसभा विघटन असंवैधानिक 

काठमाडौँ : कोरोना महामारीका कारण यो वर्ष संसद् दिवसमा औपचारिक कार्यक्रम नगरिने भएको छ। सभामुख अग्नि सापकोटाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै औपचारिक कार्यक्रम नगरिएको जानकारी दिए। 

२०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष संसद् दिवस मनाउने गरिएको थियो।

संसद् दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले कोभिड सङ्कट जारी रहँदा सङ्घीय संसद्, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन भएको उल्लेख गरेका छन्।

उनले संविधान कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमला संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको उल्लेख गरेका छन्। 

सङ्घ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै संविधान अनुरूप राज्य पुनर्संरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने सभामुख सापकोटाको भनाई छ।

औपचारिक कार्यक्रम नगरिए पनि यस दिवसको महत्त्व र औचित्यप्रति सङ्घीय संसद् सधैँ सचेत रहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्। 

संसद् दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सङ्घीय संसद् सचिवालय परिसरमा आज दिउँसो २ बजे वृक्षारोपण गर्नुहुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। 

असार १६, २०७८ बुधबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।