बिपी प्रतिष्ठानको सङ्घर्ष समितिले स्वास्थ्यमन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने
काठमाडौं : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त सङ्घर्ष समितिले उपकुलपति, रेक्टर, रजिस्ट्रार र अस्पतालका निर्देशकको राजीनामा माग गरेको छ।
उनीहरूको कार्यकक्षमा ताला लगाएर राजीनामा माग्ने प्रतिष्ठानका सहप्राध्यापक डा. विष्णु पोखरेलले बताएका छन्।
समितिमा आबद्ध चिकित्सक, नर्स र कर्मचारीहरूले मादक पदार्थ सेवन गरेर वार्तामा बसेको भन्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिलाई उनकै कार्यकक्षमा थुनेका थिए। मंगलबारको घटनाले सङ्घर्षको कार्यक्रम अर्को चरणमा प्रवेश गरेको सङ्घर्षरत स्वास्थ्यकर्मीको भनाइ छ।
डा. पोखरेलले अब स्वास्थ्यमन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता हुने बताए। प्रतिष्ठानका कर्मचारी १२ बुँदे माग राख्दै आन्दोलनमा छन्। उनीहरूका मागमा छलफल गर्न उपकुलपति डा. गिरीले वार्तामा बोलाएका थिए। तर, उनी मादक पदार्थ सेवन गरेर वार्तामा आएको भन्दै कर्मचारीले कार्यकक्षमै थुनेका थिए।
वार्ताका लागि बसेका उपकुलपतिले मादक पदार्थ सेवन गरेको थाहा पाएपछि सामान्य मर्यादा पनि नभएकाले नसाले मातिएको व्यक्तिसँग कुरा गर्नु उचित हुँदैन भन्ने निष्कर्ष निकालेर चिकित्सकहरू वार्ता कक्षबाट बाहिरिएको डा. पोखरेलले जानकारी दिए।
असार १६, २०७८ बुधबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।