जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको युएईबाट उद्धार
काठमाडौं : युएईमा झन्डै आठ महिनादेखि अलपत्र परेकी जुम्ल्याहा बच्चासहितकी डोल्मा लामा (नाम परिवर्तन) लाई गैर आवासीय नेपाली सङ्घ एनआरएनएले उद्धार गरेर नेपाल पठाएको छ।
फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै युएई गएकी उनले अगस्त २०२० मा दुबई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था नभएकी डोल्मा गैरआवासीय नेपाली सङ्घ युएईको सम्पर्कमा आएपछि उद्धारको पहल सुरु भएको एनआरएनएले जनाएको छ।
गैरआवासीय नेपाली सङ्घ युएईमार्फत गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्धार कार्यक्रमको टिमले त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा गराएको बताएको छ।
एनआरएनएका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि डोल्मालाई दुबईको सेल्टरमा राखेर नेपाल ल्याउने पहल सुरु गरिएको थियो।
नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाहरूको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरू पुरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको एनआरएनएले जनाएको छ।
गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्धार कार्यक्रम युएईका संयोजक प्रवीण पोखरेलले बच्चाको बाबुको कुनै कागजपत्र नहुँदा जन्म दर्ता लगायतका अन्य आवश्यक प्रक्रिया निकै कठिन बनेको बताए।
असार १६, २०७८ बुधबार ०९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।