एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग हुने, पुरानै केन्द्रीय कमिटी ब्युँताउने
काठमाडौं : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक आज बुधवार बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन्।
बैठकले जेठ २ मा फर्कने आधार तय गर्न महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने निर्णय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। मङ्गलवार बसेको स्थायी कमिटी बैठकले एमालेलाई पुरानै संरचना (२०७५ जेठ २ गते) मा फर्काउने निर्णय गरेको थियो।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल सहित पार्टीले कारबाही गरेका ११ जना नेतालाई बोलाइएको छैन। ‘पार्टीको निष्कासनमा परेका नेतालाई आयोजक कमिटीको बैठकमा बोलाइएको छैन,’सचिव तामाङले उकेरासँग भने,‘आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरेपछि बोलाउने नबोलाउने निर्णय हुन्छ।’
बैठकले ३१ वटा विभागको प्रमुख, उपप्रमुख पनि तय गर्ने तयारी गरेको छ।
जेठ २७ गते सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार जना सांसद (प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा)लाई पुनः बहाली गर्दै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयको वैधतामाथि प्रश्न उठाएको थियो।
यस विरुद्ध सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको एमालेको ओली समूहले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै बदल्न लागेको हो।
असार १६, २०७८ बुधबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।