नागरिक लगानी कोषले अवकाश कोषका सहभागीलाई १ प्रतिशत प्रतिफल बाँड्ने
काठमाडौं : नागरिक लगानी कोषले अवकाश कोष कार्यक्रमका सहभागीलाई एक प्रतिशत प्रतिफल बाँड्ने भएको छ।
कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिन लागेको कोषले जनाएको छ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार अवकाश ‘कोष संचालन कार्यविधि, २०५९’ को व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो।
यसका लागि करिव एक अर्ब तीन करोड रूपैयाँ बराबर सहभागीलाई वितरण हुने सूचना अधिकारी सिलवालले जानकारी दिए। यसबाट सहभागीलाई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पु¥याउने कोषले विश्वास लिएको छ।
प्रतिफल रकम सम्बन्धित सहभागीको खातामा जम्मा गरिएको कोषको भनाइ छ। कोषले यस कार्यक्रममा ब्याजदरको अतिरिक्त थप प्रतिफल निरन्तररूपमा दिने र कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी)मा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको जनाएको छ।
असार १५, २०७८ मंगलबार २२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।