प्रधानमन्त्रीले शिक्षामन्त्री श्रेष्ठलाई ' त्यसो नगर्नु' भनेर सचेत गराए

प्रधानमन्त्रीले शिक्षामन्त्री श्रेष्ठलाई ' त्यसो नगर्नु' भनेर सचेत गराए

काठमाडौँ : जातीय विभेदको आरोपमा प्रहरी हिरासतमा पुगेकी सरस्वती प्रधान रिहा भएपछि गाडी लिएर लिन पुगेका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले दाबी गरेका छन्।

मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा कानुन मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री श्रेष्ठलाई अब त्यस्तो गल्ती नगर्नु भनेर सचेत गराएको दाबी गरेका हुन्।

कानुन मन्त्रीले मन्त्री श्रेष्ठको काम दुर्भाग्यपूर्ण भने।

‘गाडीमा चढाएर लैजानु दुर्भाग्य कुरा हो। सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ। मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है। यो काम जुन तपाईँले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ' उनले दाबी गरे।

दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै सञ्चारकर्मी रुपा सुनारले उजुरी गरेपछि प्रहरीले काठमाडौँ बबरमहलकी घरबेटी प्रधानलाई पक्राउ गरेको थियो। जिल्ला महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन प्रमाण नपुगेको भनेपछि उनी मुक्त भएकी थिइन्।

असार १५, २०७८ मंगलबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।