दलका सांसदलाई आफूखुसी अरु दललाई समर्थन, विरोध र ह्विप उल्लंघन गर्ने अधिकार छैन : नायब महान्यायाधिवक्ता घिमिरे

दलका सांसदलाई आफूखुसी अरु दललाई समर्थन, विरोध र ह्विप उल्लंघन गर्ने अधिकार छैन : नायब महान्यायाधिवक्ता घिमिरे

काठमाडौं : नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले दलका सांसदलाई आफूखुसी अरु दललाई समर्थन, विरोध र ह्विप उल्लंघन गर्ने कानुनी र संवैधानिक अधिकार नभएको बताएका छन्।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद विघटन मुद्दामा रिट निवेदकतर्फका बहसकर्ताको तर्कको प्रत्युत्तर दिँदै उनले यस्तो बताएका हुन्। ‘धारा ७६ (५) मा पनि ह्विप लाग्छ,’ सरकारी पक्षका तर्फबाट बहस गर्दै उनले भने। 

यसअघि रिट निवेदकतर्फका बहसकर्ताले संविधानको धारा ७६ (५) अनुसार सांसदलाई सरकार बनाउने स्वतन्त्र अधिकार रहेको जिकिर गरेका थिए। 

यसअघि आजै बहस गरेका नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले पनि राजनीतिक दलबाट निर्वाचित भएकाले सांसद दलबाट स्वतन्त्र नभएको तर्क गरेका थिए। 

कोइरालाभन्दा अघि आजको इजलासको सुरुवातमै नायब महान्यायाधिवक्ता पदमराज पाण्डेयले बहस गरेका थिए। 

यसअघि हिजो सरकारी पक्षका तर्फबाट पहिलो नम्बरमा महान्यायाधिवक्ताले रमेश बडालले साढे ३ घण्टा बहस गरेका थिए। 

सरकारी पक्षको बहसअघि रिट निवेदकतर्फका ३६ कानुन व्यावसायीले बहस गरेका थिए। 

विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको संसद् विघटनविरुद्धको रिटमा सर्वाेच्चमा सुनुवाइ भइरहेको छ। 

असार १५, २०७८ मंगलबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।