नायब महान्यायाधिवक्ता कोइरालाको तर्क– राजनीतिक दलबाट निर्वाचित भएकाले सांसद दलबाट स्वतन्त्र हुँदैनन् 

नायब महान्यायाधिवक्ता कोइरालाको तर्क– राजनीतिक दलबाट निर्वाचित भएकाले सांसद दलबाट स्वतन्त्र हुँदैनन् 

काठमाडौं : नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले सांसद राजनीतिक दलबाटै निर्वाचित भएकाले दलबाट स्वतन्त्र नहुने तर्क गरेका छन्। 

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद विघटन मुद्दामा रिट निवेदकतर्फका बहसकर्ताको तर्कको प्रत्युत्तर दिँदै उनले यस्तो बताएका हुन्। 

‘राजनीतिक दलबाट निर्वाचित भएर आएका सांसद दलबाट स्वतन्त्र भन्ने हुँदैन। स्वतन्त्र हुन्छन् भन्ने हो भने यो विशुद्ध राजनीतिक बहस हुने विषय हो,’ उनले भने। 

यसअघि रिट निवेदकतर्फका बहसकर्ताले संविधानको धारा ७६ (५) अनुसार सांसदलाई सरकार बनाउने स्वतन्त्र अधिकार रहेको जिकिर गरेका थिए। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्दा पनि धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी गर्नु विशुद्ध राजनीतिक प्रश्न रहेको बताए। 

‘संविधानको धारा ७६ (३) बमोजिमको अल्पमत सरकारलाई जसपाले समर्थन गर्न चाहेन। जसकारण प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नुभएन। तर, धारा ७६ (५) अन्तर्गतको सरकारमा जसपाले समर्थन गर्ने भएपछि विश्वासको मत पाउन सक्छु भनेर सरकारमा दाबी गर्नुभएको हो। शीघ्र राजनीतिक परिवर्तनका कारण यसो हुन गएको हो। यो विशुद्ध राजनीतिक प्रश्न हो,’ उनले भने। 

कोइरालाले बहस गर्नुअघि आज बहसको सुरुवातमै नायब महान्यायाधिवक्ता पदमराज पाण्डेयले बहस गरेका थिए। 
यसअघि हिजो सरकारी पक्षका तर्फबाट पहिलो नम्बरमा महान्यायाधिवक्ताले रमेश बडालले साढे ३ घण्टा बहस गरेका थिए। 

त्यसअघि रिट निवेदकतर्फका ३६ कानुन व्यावसायीले बहस गरेका थिए। 

विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको रिटमा सर्वाेच्चमा सुनुवाइ भइरहेको छ। 

असार १५, २०७८ मंगलबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।