अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले मेडिकल कलेजलाई परिपत्र गर्दै यसबारे उल्लेख गरेका छन्।
‘कोभिड–१९ उपचारका लागि तोकिएका सरकारी तथा सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूमध्ये अब उपरान्त सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरूलाई मात्रै कोभिड–१९ उपचारको अस्पतालका रूपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ,’ परिपत्रमा भनिएको छ।
सरकारले यसअघि विभिन्न मेडिकल कलेजसँग सम्झौता गरी संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।
मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराइने जनाएको छ।
साथै मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजलाई संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन आग्रहसमेत गरेको छ।
असार १५, २०७८ मंगलबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।