राष्ट्रिय धान दिवस मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।
यो वर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने नारा तय गरिएको छ। सन् २००४ मा ‘धान नै जीवन हो’ भन्ने नारा सहित संयुक्त राष्ट्रिय सङ्घले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो।
राष्ट्रिय धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। जुम्ला बाहेक ९ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले जुम्लामा भने चैत १५ गते सार्वजनिक बिदा दिँदै आएको छ।
असार १५, २०७८ मंगलबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।