संसद् विघटन मुद्दा : रिट निवेदकतर्फको बहस सकियो, सरकारी पक्षतर्फको बहस भोलिबाट
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटनलगायत मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ।
विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको रिटमा आज निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सविता भण्डारी, नरहरि आचार्य, अधिवक्ताहरू सतिश खरेल, वसन्त रिमाल, चन्द्रकान्त ज्ञवाली, सीताराम अधिकारीलगायतले बहस गरेका थिए।
यससँगै संवैधानिक इजलासले रिट निवेदकलाई बहसका लागि दिएको १२ घण्टाको समयसीमा सकिएको छ।
रिट निवेदकका तर्फबाट तीन दिनमा ३६ जनाले बहस गरेका छन्।
सरकारी पक्षका बहसकर्ताले भाेलिबाट बहस गर्ने छन्। सरकारी पक्षका बहसकर्ताका लागि पनि १२ घण्टाको समय दिइएको छ।
उक्त बहस सकिएपछि रिट निवेदक र सरकारी पक्षका बहसकर्ता थप ३/३ घण्टा जवाफी बहस गर्न पाउने छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद् विघटन गरेपछि विपक्षी गठबन्धनका १ सय ४६ सांसद्ले रिट निवेदन दायर गरेका थिए।
असार १३, २०७८ आइतबार १६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।