अधिवक्ता ओमप्रकाशको तर्क : प्रतिनिधि सभाको विघटन संविधान विरुद्धको अपराध

अधिवक्ता ओमप्रकाशको तर्क : प्रतिनिधि सभाको विघटन संविधान विरुद्धको अपराध

काठमाडौँ : अधिवक्ता ओमप्रकाश अर्यालले देउवा प्रधानमन्त्री नियुक्त भएमा मात्र प्रतिनिधि सभा विघटन हुनबाट जोगिने तर्क गरेका छन्। संसद् विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा  सुनुवाइ जारी छ। उनको बहस नोटमा प्रधानमन्त्री ओलीलाई अवैधानिक रूपमा सत्तामा टिकाउने योजना (एक प्रकारको कु) मुताबिक राष्ट्रपतिबाट पटक पटक प्रतिनिधि सभाको विघटन गरिएको कार्य असंवैधानिक मात्र नभै कसुरजन्य रहेको दाबी गर्दै दुराशययुक्त विघटनलाई संविधान विरुद्धको अपराधको रूपमा स्मरण गराइनु पर्ने दाबी गरेका छन्।

उनको लिखित बहस नोट

धारा ७६ को उपधारा (५) बमोजिम दाबीकर्ता रिट निवेदक शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुन सक्ने आधार विद्यमान भएको हुँदा प्रतिनिधि सभा विघटन बदर भागी छ भनी निम्न तर्कहरू प्रस्तुत गर्दछु ।  

१) उपधारा (४) बमोजिमको तीस दिनभित्र विश्वासको मत माग्दा प्राप्त नभएमा वा विश्वासको मत माग्न नगएमा वा राजीनामा गरेमा मात्र पद रिक्त हुन्छ । सामान्यतया विश्वासको मत प्राप्त गर्न नसकेमा मात्र उपधारा (५) क्रियाशील हुने अवस्था आउँछ । नियुक्ति मिति वैशाख ३० बाट अधिकतम तीस दिनसम्म पदमा रहन पाउने प्रधानमन्त्री ओलीले पद रिक्त नगर्दै जेठ ६ मा राष्ट्रपतिले उपधारा (५) को प्रधानमन्त्री नियुक्ति प्रक्रिया आरम्भ गर्नु संवैधानिक प्रावधान अनुकूल थिएन ।

२) यद्यपि जेठ ६ को प्रधानमन्त्री ओलीको कपटपूर्ण परित्याग सिद्धान्त तः परित्यागकर्ताका हकमा बाध्यकारी हुन्छ । परित्यागको असर परिणाम स्विकार्ने विषय अन्य पक्षको हकमा भने स्वेछिक हुन्छ । विश्वासको मत माग्ने अधिकार परित्याग गर्ने वा आत्मघाती रूपमा पटक पटक प्रतिनिधि सभा विघटन गरी आफै आफ्नो सदस्यता समाप्त पार्ने प्रधानमन्त्रीका हकमा परित्यागको सिद्धान्त (Doctrine of Waiver) आकर्षित हुन्छ । आफ्नो गल्तीको फाइदा आफैले लिन पाउनु हुन्न । ओलीले प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्नु र त्यस्तो दाबी राष्ट्रपतिले ग्रहण गर्नु संवैधानिक नैतिकता विपरीत छ ।

३) हाल विघटनका नाममा प्रतिनिधि सभामा ग्रहण मात्र लागेको अर्थ गर्दा पनि पछिल्लो पटक वैशाख ३० मा प्रधानमन्त्री नियुक्त ओलीको विश्वासको मत लिने अवधि जेठ २९ मा गुज्रिसकेको आधारबाट समेत निज स्वतः पदमुक्त भइसक्नु भएको छ । निजले दाबी लिई मुद्दामा आउनु भएको पनि छैन । निजले राष्ट्रपति समक्ष पेस गरेको असंवैधानिक दाबी हाल पूर्णतः मृत अवस्थामा छ ।

४) अर्का दाबीकर्ता देउवाको दाबीमा बदर भागी रहेको राष्ट्रपतिको जेठ ७ को विज्ञप्तिबाट ग्रहण सम्म लागेको अवस्था हो । देउवाको दाबी पुनः क्रियाशील भई कानुनी असर परिणाम दिन योग्य छ । निजले प्रस्तुत गरेका १४९ सांसदको हस्ताक्षर मध्ये ३८ जनाको हस्ताक्षर राष्ट्रपतिले अमान्य घोषित गरेको कार्य संविधानसम्मत छैन।

सांसदको हैसियतमा हस्ताक्षर, समर्थन वा मतदान गर्ने अधिकार दलको नेताबाट प्रत्यायोजित अधिकार होइन । प्रत्येक सांसदको अन्तर्निहित अधिकार हो । हस्ताक्षरको वैधानिकता हस्ताक्षरकर्ताले सनाखत गरेको खण्डमा अन्य कुनै पनि आधारमा अमान्य हुन सक्दैन । दलको नेताले अमान्य वा अस्वीकृत गर्न राष्ट्रपतिलाई अनुरोध गर्दैमा सांसदको हस्ताक्षरको स्वतः वैधानिकता समाप्त हुँदैन । राष्ट्रपतिले अन्य अजमाइसयुक्त कुरालाई आधार मानी विशुद्ध राजनीतिक प्रश्नमा प्रवेश गर्नु भएको कार्य पनि सर्वथा असंवैधानिक छ ।

५) संवैधानिक योजना मनन गर्दा उपधारा (५) बमोजिम बहुमत वा अल्पमतको प्रधानमन्त्री नियुक्त हुन सक्छ । दाबीको प्रकृति हेर्दा देउवाले अल्पमतको प्रधानमन्त्रीमा दाबी गरेको देखिन्छ । विश्वासको मत दिएकै आधारमा कुनै सांसद स्वतः सत्ता पक्ष भई हाल्दैन । सामान्यतया अधिवेशन चलिरहेको अवस्थामा उपधारा (४) को प्रयोग सम्पन्न भएको लगत्तै उपधारा (५) क्रियाशील हुने हुँदा र यसको बनोटलाई संसदीय स्थायित्व सम्बन्धी विशिष्ट उद्देश्य बमोजिम अक्षरशः हेर्दा वा प्रधानमन्त्री चयन गरी विघटनबाट जोगिन पाउने विषयलाई प्रतिनिधि सभाको आत्मरक्षाको अवशिष्ट अधिकार मान्दा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रतिनिधि सभामा प्रस्तुत गर्न सकिने अर्थ पनि आउँछ । यस अर्थलाई मानेको खण्डमा देउवाको समर्थनमा प्रस्तुत १४९ सांसदका हस्ताक्षर राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा सृजित कपटपूर्ण परिस्थितिका बिच प्रतिनिधि सभा कै नासोको रूपमा सघै राष्ट्रपति कार्यालयमा पुगेको मान्न सकिन्छ । संवैधानिक लोकतन्त्रमा प्रक्रिया र परिमाण (सङ्ख्या) दुवै महत्त्वपूर्ण हुन्छ । प्रक्रियामा ग्रहण लागेकै कारणले सङ्ख्यालाई पनि निषेध गर्नु लोकतन्त्र विपरीत हुन्छ ।

६) उपधारा (५) र (७) दुवैलाई साथै राखी हेर्दा प्रधानमन्त्री नियुक्त हुन वा कायम रहन दिने वा नदिने, अर्थात् सभालाई विघटन हुन दिने वा नदिने सांसदको अन्तर्निहित अधिकारको विषय हो । उपधारा (८) हेर्दा यस्तो अधिकारको अभ्यास पैँतीस दिन सम्म गर्न सकिन्छ । पैँतीस दिनको अवधि उचित प्रयास (Due Diligence) का लागि हो । पैँतीस दिनको अवधिलाई एक्काइस घण्टामा सीमित गर्ने राष्ट्रपतिको जेठ ६ को आव्हान प्रथम दृष्टिबाटै दुराशययुक्त छ । संसदीय स्थायित्वको मान्यता आत्मसात् गरी उपधारा (७) र (८) दुवैलाई साथै राखी हेर्दा प्रतिनिधि सभाका सदस्यहरूले पैँतीस दिन सम्म उचित प्रयास गर्दा पनि उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्र प्रतिनिधि सभा विघटन गर्नु पर्ने वाध्यात्मक अवस्था आउँछ । विघटनका लागि पूर्वावस्थाको परिपक्वता भने पैँतीस दिन व्यतीत भएपछि मात्र आउँछ । उक्त अवधिभित्रै प्रधानमन्त्री नियुक्तिका लागि प्रमाणिक आधार प्रस्तुत भएको अवस्थामा गरिएको विघटन बदर भागी छ ।

७) अतः प्रस्तुत मुद्दाको रोहबाटै उपधारा (५) बमोजिम दाबीकर्ता रिट निवेदक देउवा प्रधानमन्त्री नियुक्त भएमा मात्र प्रतिनिधि सभा विघटन हुनबाट जोगिने,  संवैधानिक योजना बमोजिम संसदीय स्थायित्व हुने र  संविधान माथिको हानी न्यूनीकरण हुने हुँदा निजलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गरी त्यसको जानकारी सर्वोच्च अदालतलाई गराउनु भनी राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरी पाउँ ।   

८) साथै, प्रधानमन्त्री ओलीलाई अवैधानिक रूपमा सत्तामा टिकाउने योजना (एक प्रकारको कु) मुताबिक राष्ट्रपतिबाट पटक पटक प्रतिनिधि सभाको विघटन गरिएको कार्य असंवैधानिक मात्र नभै कसुरजन्य पनि हो । दुराशययुक्त विघटनलाई संविधान विरुद्धको अपराधको रूपमा स्मरण गराइनु पर्दछ । संवैधानिक प्रणालीको सुरक्षाका लागि संविधान उल्लङ्घनकर्तालाई व्यक्तिगत हैसियतमा समेत जबाफदेही बनाउनका लागि संसद् समेतको ध्यानाकर्षण गराउनु उचित हुन्छ ।  

असार १३, २०७८ आइतबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।