अधिवक्ता सतिश खरेलले भने– धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि देउवाको दाबी वैध छ 

अधिवक्ता सतिश खरेलले भने– धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि देउवाको दाबी वैध छ 

काठमाडौं : वरिष्ठ अधिवक्ता सतिश खरेलले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवाले गरेको दाबी वैध रहेको जिकिर गरेका छन्। 

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटनलगायत मुद्दामा रिट निवेदक विपक्षी गठबन्धनका १ सय ४६ सांसद्को तर्फबाट बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्। 

‘बहुमत सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर गरेका छन्। संविधानको धारा 
७६ (५) वमोजिम विश्वासको मत पाउँछु भन्ने आधार पेस गर्ने हो। लिखितरूपमा देउवालाई मेरो समर्थन छ भनिसके पछि त आधार त पुग्यो नि,’ उनले भने, ‘तर, उहाँहरू (प्रधानमन्त्री/राष्ट्रपति) त यो मान्दिनँ भन्नुहुन्छ। सांसदले दलको भन्या ह्विप नमानेको हुँदा उहाँहरू यो कुरा मान्दिनँ भन्नुहुन्छ। तर, यहाँ त ह्विप पनि जारी भएको छैन। ह्विपको आधारमा भोटिङ भाको छ भने प्रमाणित त भइसकेको छैन।’

उनले धारा ७६ (५) मा दलको नभई सांसदको अधिकार रहेकाले तर्क गरे। ‘धारा ७६ (५) त दलको नभई सांसदको अधिकार हो। यसकारण देउबाको दाबी भ्यालिड (वैध) छ,’ उनले भने। 

उनले दलले ह्विप जारी गरेको अवस्थामा सांसदले ह्विपविपरीत भोट हालेपछि मात्र भोट शून्य हुने बताए। ‘बहुदलीय व्यवस्था भन्दैमा पार्टीको बधुवा मजदुर हुँदैन सांसद,’ उनले भने। 

विपक्षी गठबन्धनका १ सय ४६ सांसद्ले संसद् विघटनलगायत विरुद्ध सर्वाेच्चमा दायर गरेको रिट निवेदनमा सुनुवाइ हुँदैछ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते संसद् विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। 
 

असार १३, २०७८ आइतबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।