संविधानविद् डा. आचार्यले भने– धारा ७६ (३)को प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत नलिई अर्को प्रक्रियामा जान मिल्दैन
काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत नलिई अर्काे प्रक्रियामा जान नमिल्ने तर्क गरेका छन्।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटनलगायत मुद्दामा रिट निवेदक विपक्षी गठबन्धनका १ सय ४६ सांसद्को तर्फबाट बहस गर्दै उनले यस्तो तर्क गरेका हुन्।
उनले अहिलेको अवस्थामा संविधानमा दुई अवस्थामा मात्रै प्रधानमन्त्रीको पद रिक्त हुने व्यवस्था रहेको बताए। प्रधानमन्त्रीले धारा ७७ बमोजिम राजीनामा दिएमा र ७६ (४) बमोजिम विश्वासको मत लिन नसकेको अवस्थामा पद रिक्त हुने उनको भनाइ छ।
विपक्षी गठबन्धनका १ सय ४६ सांसद्ले संसद् विघटनलगायत विरुद्ध सर्वाेच्चमा दायर गरेको रिट निवेदनमा सुनुवाइ हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते संसद् विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।
असार १३, २०७८ आइतबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।