मित्र काफ्लेलाई क्यानडामा  ‘सिटिजन्स अवार्ड’

मित्र काफ्लेलाई क्यानडामा  ‘सिटिजन्स अवार्ड’

काठमाडौं : नेपाली नागरिक मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारको ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन्। कोरोना महामारीको समय यो वर्ष थप गरेको अवार्डबाट काफ्ले सम्मानित भएका हुन्। 

स्थानीय सरकारले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड थप गरेर कोभिड १९ को समयका उत्कृष्ट नागरिक विधा राखेको थियो। यही विधामा काफ्लेलाई सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले अवार्ड प्रदान गरे।

सिटिजन अवार्ड अन्तरगतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले पाएका छन्। अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरे। 

वर्ष नागरिक, कला, खेलकुद, आपतकालिन सेवा, प्रेरणादायी, दीर्घकालीन सेवा लगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकलाई यी अवार्डहरूमार्फत सम्मान गर्दै आएको छ। समुदायका नागरिकले विभिन्न क्षेत्रमा गरेको उपलब्धिको सम्मान स्वरूप यो अवार्ड प्रदान गरिँदै आएको सिटी अफ ब्राम्टनले जनाएको छ। 

अवार्ड छनौट कमिटीमा विभिन्न विधाका विज्ञहरू, समुदायका सदस्यहरू, निर्वाचित स्थानीय जनप्रतिनिधिहरू, ब्राम्टनको फायर एन्ड इमर्जेन्सी सर्भिस, स्वयंसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहन्छन्। सिटी अफ ब्राम्टन झन्डै ६ लाख जनसङ्ख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो।

असार १२, २०७८ शनिबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।