जेसिबीको बकेटले ठक्कर दिएर सर्लाहीमा वडाध्यक्षको हत्या, ठेकेदार र चालक पक्राउ
सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राती जेसिबीको बकेटले ठक्कर दिएर हत्या भएको छ।
जेसिबीका चालक हर्कबहादुर गोलेले जेसिबीको बकेटले ठक्कर दिएर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र चालक गोले बिच राती विवाद हुँदै गर्दा गोलेले आवेशमा आएर श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।
वडाध्यक्ष श्रेष्ठ सार्वजनिक पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर बकेटले लडाएर माटोले पुरेको अवस्थामा श्रेष्ठको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
जेसिबीको बकेट प्रहारबाट अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका ३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नागरपालिका १ हजारबिघाका ३८ वर्षीय हर्कबहादुर गोलेलाई नियन्त्रणमा लिएको छ।
मृतक ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टम पछि अहिले छोरा सुमन श्रेष्ठले बुझेका छन्। प्रहरी निरीक्षक गिरीले ठेकेदार र चालकले हत्या स्वीकार गरेका जानकारी दिए।
असार १२, २०७८ शनिबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।