प्रेस काउन्सिलको कालोसूचीमा परे ४ अनलाइन सञ्चारमाध्यम 

प्रेस काउन्सिलको कालोसूचीमा परे ४ अनलाइन सञ्चारमाध्यम 

काठमाडौं : प्रेस काउन्सिल नेपालले चार वटा अनलाइनसञ्चारमाध्यमलाई कालोसूचीमा राखेको जनाएको छ। पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटक पटक काउन्सिलको निर्णय/निर्देशन अवज्ञा गर्ने ४ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको काउन्सिलले जनाएको छ। 

इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकम काउन्सिलको कालोसूचीमा परेका हुन्। कालोसूचीमा परेका मध्ये इहिमालयटाइम्सलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ। 

काउन्सिलले ४५० वटा अनलाइन सञ्चारमाध्यमको स्वअनुगमन गरेर ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराएको छ। 

काउन्सिलले सञ्चार विज्ञ भानुभक्त आचार्यलाई ध्यानाकर्षण र सुझाव माग गरिएको जनाएको छ। यस्तै संचारकर्मी रोजन राईलाई काउन्सिलले सचेत गराएको छ। 

यस्तै नेपालआज डट कमलाई काउन्सिलले ध्यानाकर्षण गराएको छ भने कर्णाली खबर डट कमलाई सचेत गराइएको जनाएको छ। देशसञ्चार, सेतोपाटी, जनता टाइम्स, दैनिकन्यूज नेपाल अनलाइन सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको काउन्सिलले  अग्नीज्वाला, सफल खबर, रिपोर्टस नेपाल, साजा नेपाललाई सचेत गराएको छ। 

२०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेब पोर्टलको सङ्ख्या १५९ रहेको काउन्सिलले जनाएको छ। यस्तै पछिल्लो पन्ध्र दिनमा १५ वटा वेब पोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले निकालेको विज्ञप्तिमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ। काउन्सिलले पछिल्लो समय रुपा सुनुवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत ध्यानाकर्षण भएको जनाएको छ।

असार ११, २०७८ शुक्रबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।