राष्ट्रपतिले तोकिन् १६ मन्त्रालयको कार्यभार
राष्ट्रपति भण्डारीले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठलाई तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीलाई रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ। यस्तै, उपप्रधान एवं अर्थमन्त्री पौडेललाई गृह, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसमेत जिम्मेवारी तोकिएको छ।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको कार्यभार दिइएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ।
‘सर्वाेच्च अदालतबाट मिति २०७८ जेठ २१ र जेठ २७ को मन्त्रिपरिषद् विस्तारमा परेका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु, गर्न नदिनु, नदिलाउनु भनी अन्तरिम आदेश जारी भएको हुँदा उहाँहरूले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको २०७८ असार १० गतेको सिफारिसमा देहायबमोजिम सम्हाल्ने गरी तोक्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सर्वाेच्चको अन्तरिम आदेशपछि २० जना मन्त्री पदमुक्त भएका थिए। अहिले मन्त्रिपरिषद् ५ सदस्यीय मात्रै छ।
असार १०, २०७८ बिहीबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।