बास र खानाको लोभ देखाएर बलात्कार प्रयास सफल नभएपछि हत्या
बुधवार दक्षिणकालीको पिकनिक क्षेत्रमा रहेको पुरानो शौचालय नजिकै बीभत्स अवस्थामा सुब्बाको शव फेला परेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्र कुवेर खापुङका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिम्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए।
दक्षिणकाली मन्दिर क्षेत्रमा पुगेकी उनले बस्ने-खाने समस्या भएको बताएपछि उनले प्रलोभनमा पारेर बलात्कार प्रयास गरेको र उनले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको बिहीबार पत्रकार सम्मेलनमा खापुङले बताए।
प्रहरीका अनुसार ती युवाले सुब्बालाई आफूले काम गर्ने बसमा बास मिलाइदिने भनेर लगे। घटनास्थलमा लगेर उनले बलात्कार प्रयास गरेपछि सुब्बाले प्रतिकार गरिन्। त्यसपछि उनले सुब्बाको घाँटी थिचेर पछि उनकै सलले घाँटी कसेर हत्या गरेका थिए।
प्रहरीका अनुसार हत्यापछि उनले सुब्बाको पहिचान नहोस् भनेर उनको टाउकोमा ढुङ्गाले हानेर क्षतविक्षत बनाएर शौचालय नजिकै शव छाडेर भागेर काठमाडौँ आएर बसेका थिए। काठमाडौँमा लुकेर बसेका उनलाई प्रहरीले काठमाडौँ-२७ कमलाक्ष इनबहालबाट पक्राउ गरेको हो।
असार १०, २०७८ बिहीबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।