बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने अन्तरिम आदेश खारेजीको माग गरिएको निवेदन दर्ता गरेन सर्वाेच्चले
काठमाडौं : सर्वाेच्च अदालतले झापाको बिर्तामोड नगरपालिका–५, स्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई सम्बन्धन दिने अन्तरिम आदेश खारेजीलगायत माग गरिएको रिट निवेदन दर्ता गर्न नमिल्ने जनाएको छ।
सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालले आज आदेश जारी गर्दै सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सका अभियन्तासमेत रहेका रामेछाम, उमाकुण्ड नगरपालिका–२ का शशिविक्रम कार्कीले पेस गरेको उक्त निवेदन दर्ता गर्न नमिल्ने जनाएका छन्।
‘उल्लेखित प्रावधान अनुसार रिट निवेदनको सुनुवाइको क्रममा निवेदन दिएको अवस्थामा इजलासबाट सरोकारवाला कायम गरी सुनवाइमा संलग्न हुन अनुमति दिने÷नदिने सम्बन्धमा निरोपण हुने देखिएको, यसरी निवेदन दिई सरोकारवाला कायम भइनसकेका र प्रत्यर्थीसमेत नभएका यी निवेदकले अल्पकालीन अन्तरिम आदेश खारेज गर्नका लागि अविलम्ब सुनुवाइ गरी पाउँ भनी प्रस्तुत निवेदन लिई आएको हुँदा दर्ता गर्न मिलेन,’ आदेशमा भनिएको छ।
उक्त निवेदनलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को १२८ तथा सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपिट गरिएको आदेशमा उल्लेख छ।
सर्वाेच्चमा पेस गरेको रिट निवेदनमा सरोकारवाला कायम गरी सुनुवाइमा संलग्न गराउन मागसमेत गरिएको छ।
गत आइतबार रिट निवेदन सर्वाेच्चमा पेस गरेको रिट निवेदन कार्कीले बताए। उनले दरपिटविरुद्ध भोलि वा पर्सि इजलासमा जाने तयारी भइरहेको जानकारी दिए।
असार ९, २०७८ बुधबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।