वरिष्ठ अधिवक्ता थापाको जिकिर– संसदबाट विश्वासको मत परीक्षण नगरी नयाँ सरकार गठन प्रक्रिया सुरु हुन सक्दैन
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदबाट विश्वासको मत परीक्षण नगरी नयाँ सरकार गठनको प्रक्रिया सुरु नै हुन नसक्ने जिकिर गरेका छन्।
संसद विघटनविरुद्ध १ सय ४६ सांसदको रिटमा संवैधानिक इजलासमा बहस गर्दै उनले यस्तो बताएका हुन्। ‘विश्वासको मत लिन हाउस बोलाउनुपर्यो। मतदान गर्ने अधिकार राष्ट्रपतिले काट्न पाउनुहुन्न। यो धेरै दुःख गरेर ल्याएको व्यवस्था हो,’ उनले भने।
उनले राष्ट्रपति र प्रधानमन्त्रीले जेसुकै गरे पनि त्यसलाई राजनीतिक निर्णय मान्न नसकिने बताए। ‘राजनीतिज्ञले जे गरे पनि राजनीतिक प्रश्न हुने हो र ? संविधान र व्यवस्था हुँदैन ?’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले जे गरे पनि राजनीतिक निर्णय भन्ने ?’
उनले विगतको अनुभवबाटै कार्यकारणी अधिकार मन्त्रिपरिषदमा राखिएको बताए।
‘हिजो राजा हटाएर राष्ट्रपति ल्याइयो। राष्ट्रपतिलाई कस्तो राष्ट्रपति हो भन्ने हो ? मेरो शब्दमा सम्माननीय नभने पनि राष्ट्रपतिप्रति मेरो पूरै सम्मान छ। मेरो पूर्ण सम्मान छ। शब्दैपिच्छे सम्माननीय नभने पनि प्रधानमन्त्री र राष्टपतिप्रति सम्मान छ। नभए प्रधनमन्त्री रिसाउनुहुन्छ।’
असार ९, २०७८ बुधबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।