नेपालमा कोरोनाको डेल्टा र अल्फा भेरियन्ट भेटिएको पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा कोरोनाको डेल्टा भेरियन्ट र अल्फा भेरियन्ट भेटिएको पुष्टि भएको हो।
गत जेठ २६ गते भारतको नयाँ दिल्लीस्थित द इन्स्च्यिुड अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बाइलोजी (आइजिआइबी)मा परीक्षणका लागि पठाएको ४८ नमुनामध्ये ४७ मा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र १ मा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भारतमा परीक्षणका लागि पठाएका नमुना गत वैशाख २६ देखि जेठ २० सम्म संकलन गरिएका हुन्।
डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन (के४१७एन म्युटेसन) भेटिएको विज्ञप्तिमा उल्लेख छ। म्युटेसन नेपालसहित १० भन्दा बढी देशमा पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म अल्फा भेरियन्ट (बी.१.१.७), डेल्टा भेरियन्ट (बी.१.६१७.२) र कप्पा भेरियन्ट (बी.१.६१७.१) भेटिएको पुष्टि भइसकेको छ।
यी भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असार पार्ने विभिन्न अध्ययनले देखाएको पाइएको मन्त्रालयले जनाएको छ।
असार ७, २०७८ सोमबार १६:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।