'सामाजिक अभियन्ता'को हिरासत यात्रा : अभद्र व्यवहारदेखि ठगीसम्मका आरोपी
आफूलाई समाजसेवी दाबी गर्ने ज्वालामाथि घिमिरेले फेसबुकमा एक अर्कप्रति गरेको टिप्पणीबारे छलफल गर्न महानगरीय प्रहरी वृत्त गौशालामा जाँदा जेठ १६ मा कुटपिट गरेको दाबी गरेकी छिन्। उनको जाहेरीपछि आइतबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
जेठ १६ को घटना भए पनि घिमिरेले कतै उजुर गरेकी थिइनन्। ज्वाला प्रहरीलाई रङ्गभेदी प्रतिक्रिया दिएपछि विवादमा आएपछि घिमिरेले घटना सार्वजनिक गर्दै जाहेरी दिएकी थिइन्। ज्वाला पक्राउ परेपछि प्रहरी कार्यालय गएका उनका समर्थकलाई कुटेको आरोपमा प्रहरीले घिमिरे समर्थक सुजन खत्री र सुमन चित्रकारलाई समेत पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।
ज्वाला जापानमा रहेको बेला नेपालमा टेलिभिजन कार्यक्रम मार्फत विभिन्न अभियान चलाउन सक्रिय रबी लामिछानेको पक्षमा खुलेर चर्चामा आएकी थिइन्। उनको सामाजिक सञ्जालको सक्रियता हेर्दा उनी लामिछानेको विभिन्न अभियानमा चन्दा उठाएर सघाउन सक्रिय रहेको देखिन्छ।
उनी जापानबाट नेपाल आएर आफूलाई सामाजिक अभियन्ताको रूपमा चिनाउँदै आएकी थिइन्। उनी प्राय विभिन्न व्यक्तिहरूसँग चन्दा उठाएर सहयोग गर्ने अभियानमा संलग्न देखिँदै आएकी छिन्।
सङ्ग्रौला अगाडि आफूलाई सामाजिक अभियन्ता भएको दाबी गर्ने ज्ञानेन्द्र शाही पनि प्रहरी हिरासतमा पुगिसकेका छन्। आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्ने शाही पटक-पटक विवादमा आउने गरेका छन्।
युट्युबका कन्टेन्ट क्रियटरका प्रिय उनी २०७७ वैशाख ९ मा ललितपुर प्रहरीको हिरासतमा पुगेका थिए। लकडाउन उलङ्घन गरेको आरोपमा पक्राउ परेका उनी केही दिन अगाडि कुटपिटको घटनाले विवादमा आएका थिए। उनी अहिले चेक बाउन्सको विवादमा समेत तानिएका छन्।
उनी यस अगाडि २०७६ भदौ २९ मा पनि ललितपुरमै पक्राउ परेका थिए। पुलचोकमा उनले पत्रकार सम्मेलन गर्दा विद्यार्थी नेताहरूले अवरोध गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर पछि हिरासतमा राखेको थियो।
टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममार्फत कहिले विदेशमा रहेको नेपाली फर्काउने, अस्पताल बनाउने त कहिले अन्य अभियान सुरु गर्ने रबी लामिछाने समेत पक्राउ परेका थिए। उनी आफ्नै सहकर्मीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको थियो।
गलत भिसामा नेपालमा बसेको, व्यक्तिगत घरायसी सम्बन्ध लगायतका घटनाले विवादमा आएका लामिछानेले पछि सो गम्भीर मुद्दाबाट सफाइ पाए।
बेवारिसे शव उठाएर जलाउन सक्रिय भएका विजयजङग बस्नेत आफ्नै चेलीबारे अभद्र टिप्पणी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेका थिए। उनले आफ्नै चेली सपना मगरको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका थिए। उनी विरुद्ध पनि अभद्र व्यवहार को आरोप लागेको थियो।
आफूलाई सामाजिक अभियन्ता बताउने आशिष मल्ल ठकुरी प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको आरोपमा बाँकेमा पक्राउ परेका थिए। ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको आरोपमा पक्राउ परेका थिए।
अभियन्ताको आवरणमा अराजकता
कोरोनाको दोस्रो लहरको बेलामा अस्पताल आएका मन्त्रीलाई अभद्र व्यवहार गर्दा लामिछाने विवादमा आएका थिए। प्रमाण सार्वजनिक नगरी भ्रष्टाचार भएको भन्दै भरतपुर महानगरकी मेयर रेणु दाहाल लगायताको नाम सार्वजनिक गरेर शाही विवादमा आएका थिए। योगेश भट्टराइका कारण प्लेन ढिला भएकोभन्दै उनले प्लेनभित्रै भट्टराईमाथि समेत अशोभनीय व्यवहार गरेका थिए।
विना अनुमति सवारीसाधन चलाएको भन्दै प्रहरी रोक्दा ज्वाला मधेसी समुदायका प्रहरीमाथि रङ्गभेदी टिप्पणीका कारण विवादमा आइन्। आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने अन्यको स्वभाव पनि कुनै सामाजिक विषयमाथि अभियान सञ्चालन गर्ने भन्दा अभियन्ताको नाममा अराजक व्यवहार गर्ने बढी देखिन्छ।
अधिकांशले आफ्ना त्यस्ता गतिविधिलाई आम नागरिकमाझ ल्याउन यूट्वका कन्टेन्ट क्रियटरको सहायता लिने गरेको देखिन्छ।
सामाजिक अभियन्ताको नाममा सरकारी सवारीसाधन रोक्ने, अनधिकृत रूपमा व्यक्तिगत विवरण मागेर अपमानित गर्ने घटनाहरू समेत सार्वजनिक हुने गरेका छन्। उनीहरूले यस्ता गतिविधि खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका छन्।
ब्रोकर कि अभियन्ता
आफूलाई अभियन्ता दाबी गर्ने अधिकांशको गतिविधि समस्यामा परेकालाई सहयोग भन्दै चन्दा सङ्कलन अभियान चलाउने देखिन्छ। सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्क र अधिकांश त यूट्युवर परिचालन गरेर अभियान चलाउनेहरू आर्थिक गतिविधि पारदर्शी नभएको भन्दै विवादमा समेत आउने गरेका छन्। चन्दा उठाएर विभिन्न अभियान चलाउन सक्रिय अधिकांशले चन्दादाता र खर्च विवरण सार्वजनिक गर्ने गरेको देखिँदैन पनि।
अधिकांशको आर्थिक स्रोत चन्दा सङ्कलन देखिन्छ। तर उनीहरूले चन्दा सङ्कलनका लागि न सरकारी निकायबाट अनुमति नै लिएको देखिन्छ न कतै लिएको चन्दाको विवरण र खर्च भएको विवरण नै सार्वजनिक गर्ने गरेका छन्।
कतिपयले नाटकिय घटनालाई युट्युबमार्फत सार्वजनिक गरेर चन्दा सङ्कलन गर्ने गरेको घटना समेत सार्वजनिक भएको थियो। यस्तै घटनाबाट विवादमा आएका थिए भाग्य न्यौपाने।
केयर बालगृहको एक बच्चालाई योजनावद्धरुपमा कार्टुनमा राखेर बाटोमा फ्याकेर अलपत्र बच्चाको उद्धार भन्दै उनले आफ्नो युट्युब च्यानलमार्फत भिडियो प्रसारण गरेर सहयोग अभियान चलाएका थिए। पछि घटना नक्कली रहेको खुलेको थियो। उनले सहयोग गरेको रकम फिर्ता पाउँ भन्दै बालगृह सञ्चालिकासँग अन्तर्वार्ता गर्दाको व्यवहार अभद्र देखिएपछि उनको तीव्र आलोचना भएको थियो।
असार ७, २०७८ सोमबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।