सार्वजनिक यातायात चलाउन माग गर्दै यातायात मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौंः सार्वजनिक यातायात सूचारु गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गरिदिन माग गर्दै सुन्दर यातायातले मन्त्री बसन्तकुमार नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र भौतिक पूर्वधार तथा यातायात सचिव रविमान श्रेष्ठमार्फत मन्त्रीलाई बुझाइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
ज्ञापनपत्रमा लामो समयसम्म लकडाउन गराउने हो भने सार्वजनिक यातयातका क्षेत्रमा रहेका यातायात व्यावसायी, मजदूर,कामदार कर्मचारीहरु प्रत्यक्ष समस्यामा परेको उल्लेख छ।
कोरोनाको दोस्रो भेरियन्ट केही कम हुँदै गएको र अन्य व्यवसायहरु समेत दिन तोकी सञ्चालन गर्न लागेको अवशस्थामा व्यवसायीहरु पनि उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरण तयार गर्न माग गरिएको छ।
'लामो समयसम्म लकडाउनको कारण हामी यातायात व्यावसायीहरुले मासिक रुपमा बैंकलाई बुझाउनुपर्ने किस्ता रकम बुझाउन नसकिरहेको तथा यस क्षेत्रमा आवद्ध भई व्यवसाय गरिरहेका सम्पूर्ण व्यवसायी सोमा आवद्व कामदार, मजदूर कर्मचारीहरुको न्यूनतम आवश्यकता पूरा गर्न समेत सकिरहेका छैनौ, ’ज्ञापनपत्रमा भनिएको छ, ‘पहिलो लकडाउन पश्चात र दोस्रो लकडाउन हुनुपूर्वसम्म सर्तकता अपनाई यातायात सञ्चालन गरेका थियौं र हालको अवस्थामा पनि सतर्कता पनाई सञ्चालन गर्न तयार छौँ।’
असार ७, २०७८ सोमबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।