काँग्रेस महाधिवेशन : देउवालाई तर्साउन विमलेन्द्रको निवासमा शशाङ्क र प्रकाशमान
आफूलाई भावी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारको रूपमा दाबी पेस गरिरहेका काँग्रेस महामन्त्री तथा बिपी पुत्र शशाङ्क कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र निधी पुत्र विमलेन्द्र निधिले बानेश्वरमा रहेको विमलेन्द्र निवासमा भेट भएको हो।
आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिन वर्तमान सभापति शेरबहादुर देउवाले प्रदेश तहमा परामर्श बढाएपछि तीन नेताबिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
आगामी महाधिवेशनमा कोइराला,सिंह र निधिले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने इच्छा सार्वजनिक गरिसकेका छन्। निधिले पार्टी सभापति देउवासँगको भेटमा आफूले सभापतिमा उम्मेदवारी दिने भन्दै सघाउन आग्रह गरेका थिए। सभापति देउवाले उनको प्रस्ताव अस्वीकार गर्दै उठ्ने भए उठे हुन्छ भन्ने जवाफ दिएपछि निधि देउवासँग रिसाएका छन्।
निधी देउवा समूहका नेता हुन्। कोइराला र सिंहले संस्थापक समूहमा आफ्नो पक्षमा माहौल बनाएर सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। यो बिचमा आफ्नै घरमा बिपी र गणेशमानका सन्तानलाई डाँकेर तस्बिर सार्वजनिक गरेका छन्।
निधी निवास स्रोतका अनुसार निधिले उनीहरूलाई आफ्नो वैवाहिक वर्षगाँठ पारेर खानाको निम्ता दिए पनि भेटघाटको उद्देश्य भने राजनीतिक थियो। तीनै जनाले सभापतिमा एक अर्कालाई सघाउन आग्रह गर्दै आ-आफ्नो दावेदारी पेस गरेका थिए। तिनैबिच उम्मेदवारीबारे छलफल भए पनि सहमति भने भएन।
असार ७, २०७८ सोमबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।