काठमाडौंमा कुन दिन कस्ता पसल खुल्ने ?
काठमाडौं : काठमाडौंमा उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै असार १४ गते राति १२ बजेसम्म लम्ब्याइएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर थप एक साता लम्ब्याउने निर्णय गरेको हो।
थपिएको निषेधाज्ञा अवधिमा औषधी तथा स्वास्थ्य सामग्री, खाद्यान्न, दुग्धजन्य, पुस्तक पसलसँगै बार अनुसार अन्य पसल पनि खोल्न दिइने निर्णय गरिएको छ।
कुन दिन कस्ता पसल खुल्ने ?
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), स्टेसनरी पुस्तक पसल दैनिक बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने उल्लेख छ।
यस्तै, डिपार्टमेन्टल स्टोर (ग्रोसरीबाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसैगरी, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न दिइने छ।
निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) दैनिक बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन गर्न पाउने आदेशमा उल्लेख छ।
औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्वाधरूपमा सञ्चालन गर्न दिइने छ।
असार ६, २०७८ आइतबार २३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।