बाढी–पहिरो पीडितलाई सेनाको साथ, खोज उद्दार र राहत वितरणमा सक्रिय
काठमाडौं : गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेकाको खोज उद्दार र प्रभावितलाई राहत वितरणमा नेपाली सेनाले सक्रियता देखाएको छ।
सेनाले आज साँझ जारी गरेको प्रेस नोटमा गत शुक्रबारयता १ सय १० जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको उल्लेख छ।
सेनाले गत शुक्रबार मनाङको विभिन्न स्थानबाट बाढी पहिरोको कारण जोखिममा परेका ८१ जना र गत शनिबार सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–१, याङ्ग्री इलाकामा बाढी पहिरो प्रभावित २९ जनालाई उद्दार गरेको हो। ती सबैलाई एमआई–१७ हेलिकप्टरमार्फत उद्दार गरिएको सेनाले जनाएको छ।
साथै, सेनाले गत शुक्रबार प्युठानको मल्लरानी गाउँपालिका–३, बर्वाेटका हीराबहादुर बिकको शव उद्दार गरेको प्रेस नोटमा उल्लेख छ।
यस्तै, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, गणेशेबगर इलाकामा बसोबास गर्दै आएका ४३ र मेलम्चीस्थित सुरक्षा गुल्म वरपर बस्दै आएका ६० जना गरी १ सय ३ जनालाई अस्थायी बासस्थानको व्यवस्था र राहत सामग्री वितरण गरेको छ।
सेनाले हेलम्बु गाउँपालिका–४ गल्थुम र माझीटार इलाकामा बाढीबाट विस्थापित परिवारका लागि दुई स्थानमा ७/७ वटा गरी १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको जनाएको छ।
यसैगरी, मुस्ताङको घरपझोंग गाउँपालिका–४, स्यांग खोलाको पानी बस्तीमा पस्न नदिन पूर्वतयारीका लागि खोला किनारमा ग्याबिन जालीमा ढुंगा भरेको प्रेस नोटमा उल्लेख छ।
यस्तै, गृह मन्त्रालयबाट प्राप्त राहत सामग्री सेनाको हेलिकप्टरमार्फत मनाङको चामे, थाचे, ओडार, ताल तथा सिन्धुपाल्चोकको क्युललगायत स्थानमा ढुवानी गरेको सेनाले जनाएको छ।
असार ६, २०७८ आइतबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।