कोभिड प्रभावित पर्यटन क्षेत्रलाई नागरिक लगानी कोषको विशेष सापटी सेवा

कोभिड प्रभावित पर्यटन क्षेत्रलाई नागरिक लगानी कोषको विशेष सापटी सेवा

काठमाडौं : नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रलाई लक्षित गरी नागरिक लगानी कोषले विशेष सापटी सेवा सुचारु गरेको छ। 

कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिन निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, ट्रेकिङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारी तुलनात्मकरूपमा बढी प्रभावित भएकाले यस्तो सुविधा ल्याएको जनाएको छ। 

कोषका अनुसार यी क्षेत्रमा कार्यरत कर्मचारीले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिकरूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी लिने व्यवस्था मिलाइएको छ।

असामान्य परिस्थितिमा कोषका सहभागीलाई राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए। 

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने कोषले जनाएको छ।
 
सापटीमा कर्मचारी वचत वृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै लिने ब्याजदर निर्धारण गरिएको छ। कोषका अनुसार यस्तो सुविधा  अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई २०७८ पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

असार ६, २०७८ आइतबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।