सभापति बन्ने देउवाको बाटोमा निधिको छिर्के प्रयास , मिलाएर लैजान देउवालाई आफ्नै नेताको दबाब
काठमाडौँ : शनिवार प्रदेश २ का आफू निकट नेताहरूसँगको छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवार दिन इच्छुक साथीहरूले सभापतिमा उम्मेदवारी दिन सक्ने छुच्चो वचन फर्काए। उनको यो जवाफ पार्टीका उपसभापति विमलेन्द्र नीधि लक्षित थियो।
शुक्रवारको केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौ १६ देखि १९सम्म पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसैले देउवाले छलफल तिब्र बनाएका छन्।
छलफलमा निधिले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेको बताएपछि झोक्किएका देउवाले उनलाई' उम्मेदवारी दिने भए देऊँ' शैलीमा जवाफ फर्काए पनि देउवा समूहका लागि निधिले अप्ठ्यारो पार्न सक्छन्।
त्यसैले त आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफू निकट नेताहरूसँगको छलफलमा सबैले पहिला निधिको व्यवस्थापन गर्न सुझाव दिए। बैठकमा देउवाले १४औँ महाधिवेशनमा आफू पुन सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेको भन्दै सुझाव मागेका थिए।
उनले यसका लागि सबै प्रदेशका आफू निकट नेताहरू सक्रिय भएर आफ्नो समूहका महाधिवेशन प्रतिनिधिलाई जिताएर ल्याउनुपर्ने र अबको कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुने बताएको भेलामा सहभागी एक नेताले उकेरालाई जानकारी दिए।
दुवै प्रदेशको भेलामा सहभागी नेताहरूले देउवाको उम्मेदवारीप्रति नकारात्मक धारणा राखेनन्। तर अधिकांशले आफ्नो समूहलाई एक बनाएर महाधिवेशनमा नजाने हो भने समस्या पर्ने सुझाव दिएका थिए। उनीहरूको सुझाव निधी केन्द्रित थियो।
निधि बाहेक देउवा समूहबाट अन्यले सभापतिमा दावेदारी पेस गरेका छैनन्। उनका समूहका नेताहरू पनि निधिभन्दा देउवाकै पक्षमा देखिएका छन्। तर निधिले उम्मेदवारी दिएमा देउवाका लागि सभापतिको यात्रा त्यति सहज हुन सक्दैन। त्यसैले उनको समूहका नेताहरूले उनलाई 'तपाईँ निर्विकल्प हो' भने पनि निधिलाई समेत व्यवस्थापन गर्न सुझाव दिएका छन्।
निधी सभापतिको उम्मेदवार बनेमा या उनी बिच्किएर अर्को समूहमा गएमा मुख्यतः प्रदेश २ मा क्षति पुग्ने भन्दै उनीहरूले निधिलाई मनाउन सुझाव दिए। देउवाले सुझाव सुने पनि के गर्ने भनेर मुख भने नखोलेको एक नेताले बताए।
'उहाँले सुझाव सुन्नुभयो। तर केही बोल्नुभएन,'एक नेताले भने' निधिले दावेदारी पेस गरे पनि साथ दिनेमा ढुक्क देखिएका छन्। तर उनले क्याम्प बदलेमा अप्ठ्यारो पर्छ।'
यो महाधिवेशनमा गगन थापाले महामन्त्रीमा उम्मेदवारीको तयारी गरेका छन्। उनको प्रयास सफल भए उनी आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पक्का छ। त्यसैले निधी यही महाधिवेशनमार्फत पार्टीको सर्वोच्च पदमा पुग्न चाहन्छन्। अर्को महाधिवेशनमा आफ्नो पालो नआउने भएकाले पनि उनले देउवाको साटो सो समूहबाट आफू उम्मेदवार बन्न कस्सिएका छन्।
उनले यस अगाडि पनि आफ्नो पक्षमा माहौल बनाउन प्रयास गरेका थिए। उनले देउवालाई भेटेरै यो पटक आफूले सभापतिमा उम्मेदवारी दिने भन्दै सघाउन आग्रह गरेका थिए। तर देउवा सभापतिमा आफैँ दोहोरिन सक्रिय भइसकेको अवस्थामा निधि सामु क्याम्प बदल्ने या एडजष्ट हुने विकल्प मात्र छ।
अर्को समूहमा गए पनि उनले सभापतिको उम्मेदवारमा समर्थन पाउन सक्दैनन्। संस्थापक समूहमै सभापतिको उम्मेदवारीबारे रडाको छ। महामन्त्री शशाङ्क कोइरालादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म सभापतिका आकाङ्क्षी छन्।
उनले क्याम्प परिवर्तन गरे संस्थापन समूहमा पाउने पनि सम्मानजनक पदाधिकारी मात्र भएकाले उनी देउवालाई प्रारम्भमा घुर्क्याए पनि यतै सम्मानजनक पदाधिकारी लिएर चित्त बुझाउने सम्भावना बढी देखिन्छ।
असार ६, २०७८ आइतबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।