बालुवा चालेर छाक टार्ने मोरङवासीकाे दुखेसो– न काम गर्न पाइयो, न राहत
इटहरी : मोरङ, सुन्दरहरैँचा–४, बडहराका स्थानीय गछिया खोलाकै भरमा जीविकोपार्जन गर्दै आएका छन्।
बालुवा चालेर परिवार पाल्दै आएका स्थानीयलाई अहिले भोकमरीले च्याप्न थालेको छ।
यातायातका साधन बन्द भएपछि गाउँका सबै बेरोजगार भएको बताउँछन् रोशन चौधरी। खोलामा चालेको बालुवा थुपारेको लामो समय भएपछि बगेर जाने पीरमा छन् उनी।
रोशन र उनका साथीहरू तास र लुडोकै भरमा दिन कटाइरहेका छन्। कसैले राहत ल्याइदेला कि भन्ने आशमै बसेका छन् उनीहरू। जवान युवा भएर पनि अर्काको आशमै बस्नुपर्दा अप्ठ्यारो लाग्ने गरेको बताउँछन् उनी।
अघिल्लो लकडाउनमा स्थानीय तह राहतको प्याकेज लिएर घरघरमा पुगेको थियो। दुई चरणमा राहत पाएका उनीहरूले धेरै सहज महसुस गरेका थिए। पछिल्लो समयको लकडाउनमा राहतको कुनै पनि कार्यक्रम नआएपछि समस्या परेको हो।
अघिल्लो वर्षभन्दा कडा लकडाउन भए पनि राहत नपाएको गुनासो गर्छन् चौधरी। बाहिर निस्कन पनि नपाउने र घरमा खानेकुरा पनि नहुने दोहोरो समस्यामा परेको उनको भनाई छ।
सुन्दरहरैँचा–६ को सीतापुरे टोलको समस्या पनि त्यस्तै छ। अघिल्लो वर्ष वडाअध्यक्ष सहितको टोलीले राहत ल्याएको सम्झिँदै स्थानीय बाटो हेरेर बसेका छन्।
स्थानीय मानबहादुर परियारका अनुसार खोलाको काम बन्द भएपछि गाउँका सबै बेरोजगार भएका छन्। दैनिक गुजारा गरेर छाक टार्ने गरेका स्थानीयलाई अहिले समस्या पर्दै गएको छ।
‘अहिलेसम्म आफन्त छिमेकीसँग पैचो मागेर खाँदैछौं। अब के होला भन्न सकिँदैन। कोरोना लागे पनि लागोस्, तर काम गर्न दिनुपर्यो। यसरी त मरिएला जस्तो भइसक्यो,’ उनले भने।
मानबहादुरकी छिमेकी तारा लिम्बु पनि निकै दुःखी छिन्। ‘पहिला बालुवा बेचेर सुख–दुःख खाइएकै थियो,’ उनले भनिन्, ‘अब त्यही बालुवा खाने बेला भएको छ। के हैजा आयो यो आपतको बेला। अब केही दिन पनि यसैगरी बित्यो भने खानै नपाएर मरिन्छ होला।’
इटहरी उपमहानगरपालिका–४, सुनौलो टोलका विन्द्रमान राई दोहोरो तनावमा छन्। छेवैमा बगेको बुढीखोला उर्लेर बिचल्ली पार्ने हो की भन्ने त्रासले उनलाई बैचन महसुस हुन थालेको छ।
२०७४ साउन २८ गतेको बाढीले इटहरीका दुई सय बढी सुकुम्बासीका घर बगाएको थियो। मध्यरातमा आएको बाढीको कारण बिचल्लीमा परेका स्थानीय हरेक बर्खामा त्यही स्मरण गर्छन्।
ज्याला मजुदरी गरेर परिवार पाल्दै आएका उनी अहिले बेरोजगार भएका छन्। सरकारले विकास निर्माणको काम नरोक्ने भने पनि उनले अहिलेसम्म काम पाएका छैनन्।
दमको रोगी उनकी श्रीमती दुई वर्षदेखि काम गर्न नसक्ने अवस्थामा पुगेकी छन्। बिरामी श्रीमतीको लागी औषधी किन्न नसक्ने अवस्थामा पुगेको उनले बताए।
‘कस्तो बाँच्नै नपाउने दिन आयो। कहिल्यै नसोचेको कुरा भोग्नुपर्यो। काम गर्छु भन्दा पनि पाइँदैन। दिक्क लागेर आउँछ कहिलेकाहीँ,’ निराश हुँदै उनी भन्छन्।
विन्द्रमानको सकिन नपाउँदै मनोज परीयारले थपे, ‘के गर्नु सर, बिजोग भयो। बालबच्चा बिरामी हुन्छन्। औषधी किन्ने पैसा छैन। कसैसँग ऋण गराैं भने यो बेला कसले देला ? ठूला साहुँकोमा जान पाइँदैन। घरमा चामल सकिसक्यो। डाक्टरले पौष्टिक खुवाउनु भनेको छ। तपाईंको कोही छ भने भनिदिनु न।’
असार ६, २०७८ आइतबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।