वन कर्मचारी र पत्रकार भन्दै काठ मिलबाट रकम उठाएकाे आरोपमा दुई जना पक्राउ
काठमाडौं : आफूलाई वन कार्यालयको कर्मचारी र पत्रकार भन्दै काठ मिलबाट रकम उठाएर ठगी गरेको आरोपमा पर्सामा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैँचा नगरपालिका–७ बस्ने ५६ वर्षीय पुष्पप्रसाद सिग्देल र सुनसरी, इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका–१० स्थित माइबेनी मिलबाट शुक्रबार साँझ पक्राउ गरेको हो।
उनीहरूले डर देखाई विभिन्न काठ मिलबाट रकम उठाएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दधिरामको साथबाट २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्पप्रसादको साथबाट नगद ७ हजार रूपैयाँ गरी ३२ हजार ९ सय ९५ रूपैयाँ बरामद गरिएको छ।
साथै उनीहरूको साथबाट ‘सृष्टि’ साप्ताहिक तथा ‘सन्देश’ दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान ‘कान्तिपुर पोस्ट’को बजार व्यवस्थापक परिचयपत्र, १ थान ‘जनमत’ साप्ताहिकको सम्बाददाता परिचयपत्र, १ थान ‘बराह’ साप्ताहिकको सम्बाददाता परिचयपत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि ठगी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
असार ६, २०७८ आइतबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।