पत्रकार महासंघको आग्रह– कोरोनाको बहानामा श्रमजीवी पत्रकारलाई कामबाट नहटाऔं
काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना भाइरस संक्रमणको बहानामा श्रमजीवी पत्रकारलाई कामबाट नहटाउन, पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न सञ्चारगृहलाई आग्रह गरेको छ।
कोरोना भाइरस संक्रमणको बहानामा केही सञ्चारगृहले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने तथा घटाउने र बेतलबी बिदा दिनेलगायत क्रियाकलाप बढाएको भन्दै पत्रकार महासंघले यस्ता क्रियाकलाप नगर्न सञ्चारगृहलाई आग्रह गरेको हो।
‘यो विषम अवस्थामा श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न सञ्चारगृहसँग आग्रह गर्छ,’ महासंघले आज (आइतबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कोरोना संक्रमणका कारण उत्पन्न यो कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने महासंघको ठहर छ।
असार ६, २०७८ आइतबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।