श्रमजीवी पत्रकारका समस्या बुझ्न पत्रकार महासंघले भोलिदेखि सञ्चारगृहको अनुगमन गर्ने

श्रमजीवी पत्रकारका समस्या बुझ्न पत्रकार महासंघले भोलिदेखि सञ्चारगृहको अनुगमन गर्ने

काठमाडौं : श्रमजीवी पत्रकारका समस्याबारे जानकारी लिन नेपाल पत्रकार महासंघले भोलि (सोमबार)देखि सञ्चारगृहको अनुगमन गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने तथा घटाउने र बेतलबी बिदा दिनेलगायत क्रियाकलाप बढाएको भन्दै पत्रकार महासंघले सञ्चारगृहको अनुगमन गर्न लागेको हो। 

पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकारलाई आफूले भोगेका समस्याबारे औपचारिक तथा अनौपचारिक जानकारी गराउन अपिलसमेत गरेकाे छ। ‘श्रम समस्याका विषयमा वार्ता र संवादको माध्यमबाट सहजीकरण गर्न महासंघ तयार छ,’ महासचिव राेसन पुरीले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ। 

अनुगमनपछि अनुगमन समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सञ्चारगृहबारे सम्बन्धमा आवश्यक निर्णय लिने पत्रकार महासंघले जनाएको छ। 

पत्रकार महासंघले संक्रमणको जोखिम मोलेर अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोके अनुसारको सेवा–सुविधा प्रदान गर्न/गराउन आग्रहसमेत गरेको छ। 

साथै ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारी सेवा–सुविधाबाट वञ्चित गर्न तथा श्रम समस्याका विषयमा तत्काल अनुगमन गर्न पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गरेको छ। 

असार ६, २०७८ आइतबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।