सभापतिको दाबेदारी बलियो बनाउँदै देउवा, प्रदेश नेतासँगको छलफल जारी
काठमाडौं : आगामी महाधिवेशनमा पनि पार्टी सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नेतासँगको छलफल तीव्र बनाएका छन्।
महाधिवेशनको मिति संशोधन गरेलगत्तै उनी शनिबारबाट छलफलमा जुटेका हुन्। उनले शनिबार प्रदेश १ र २ का नेतासँग छलफल गरेका थिए। उनी आइतबार बागमती र लुम्बिनीका नेतासँग छलफल गर्दैछन्।
पार्टी सभापतिको उम्मेदवारीमा देउवासँगै उनकै समूहमा रहेका विमलेन्द्र निधिले रहर गरेका छन्। तर, पक्का छैन। शनिबारको प्रदेश २ को छलफलमा निधिले पनि सभापतिमा उमेदवारी दिने तयारी गरेको भन्दै देउवासँग सहयोग मागेका थिए। तर, देउवाले आफै उम्मेद्वार हुने भन्दै निधिलाई उठे हुन्छ भनेका थिए।
देउवा समूहबाट अन्यले सभापतिमा दाबी गरेका छैनन्।
महाधिवेशन मिति तोकिए पनि कोइराला-पौडेल समूह भने अन्योलमा छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालालगायत अन्य केही नेताले समेत सभापतिको उमेदवारीमा चासो राखेका छन्। उनीहरूबीच कसले केमा उम्मेदवारी दिने यकिन भइसकेको छैन।
संस्थापनमा उम्मेदवारको आकांक्षीको संख्या धेरै हुँदा देउवा निर्वाचनको रणनीति बनाउन सक्रिय भइसक्दा पनि अर्को समूह निष्क्रिय छ।
असार ६, २०७८ आइतबार १०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।