विदेश जानेको पिसिआर परीक्षणबारे स्वास्थ्य मन्त्रालय भन्यो– निजीलाई अनुमति दिने निर्णय वैशाख १९ पछि भएको छैन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेको पिसिआर परीक्षणका लागि निजी स्वास्थ्य संस्थालाई अनुमति दिनेबारे वैशाख १९ गतेपछि कुनै पनि निर्णय नभएको जनाएको छ।
मन्त्रालयले विदेश जाने प्रयोजनका हकमा कोभिड˗१९ को पिसिआर परीक्षण सबै सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल वा ‘ए’ वर्गका निजी प्रयोगशालाले गरेको मान्य हुने भन्ने सम्बन्धमा २०७८ वैशाख १९ गतेको स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको जनाएको छ।
त्यसयता कुनै पनि पिसिआर परीक्षणका सम्बन्धमा थप कुनै पनि निर्णय नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैशाख १९ गते जारी गरेको सूचनाको बुँदा नम्बर ३ मा लेखिएको छ, ‘विदेश जानेहरूको पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड भएको अस्पतालमा आधारित रहेको पिसिआर र ‘ए’ वर्गका प्रयोगशालाले गर्ने व्यवस्था मिलाउने।’
सञ्चारमाध्यममा आएका समाचार निराधार र गलत भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हिजो र आज विभिन्न संचार माध्यममा विदेश जानेको प्रयोजनका हकमा कोभिड˗१९ परीक्षणसम्बन्धी विभिन्न निजी प्रयोगशालाको नाम मात्र राखी भ्रामक, निराधार र गलत समाचार प्रकाशन भएकाले सर्वसाधारणलाई अन्योल भई कठिनाइ हुने देखिन्छ।’
मन्त्रालयले आधिकारिक जानकारी नै नलिई सर्वसाधारणलाई अप्ठेरो पर्नसक्ने किसिमका सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ।
सरकारले विदेश भ्रमणका लागि सबै सरकारी र २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको भन्दै सरकारी मिडियाले समेत समाचार सम्प्रेषण गरेका थिए।
केही मिडियाले २२ निजी प्रयोगशालाको नामसमेत सम्प्रेषण गरेका थिए। केही मिडियामा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको स्रोतका रूपमा नाम उल्लेख गरेर निजी प्रयोगशालालाई अनुमति दिएको विषयको समाचार सम्प्रेषण भएको छ।
तर, सहप्रवक्ता डा. अधिकारिले यो विषयमा आफूले केही नबोलेको र कसैले नसोधेको पनि बताए। उनले भने, ‘यो विषयमा मलाई कसैले सोधेको पनि छैन। बोलेको पनि छैन। मसँग गएको ३/४ दिनयता कोहीसँग कुरै भएको छैन।’
आफूले नबोलेको कुरा मिडियामा कसरी आयो भनेर आफू पनि अचम्ममा परेको डा. अधिकारीले बताए।
असार ६, २०७८ आइतबार ००:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।