१४ औं महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने देउवाको घोषणा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा दोहोरिने चाहना राखेका छन्।
देउवा निवास बुढानिलकण्ठमा प्रदेश १ का केन्द्रीय सदस्यसँगको छलफलमा उनले चौधौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने बताएका हुन्। यसअघि उनले सभापतिमा उम्मेदवारी दिनेबारे औपचारिकरुपमा बोलेका थिएनन्।
छलफलमा सहभागी केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति देउवाले आफू चौधौं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने र यसका लागि सहयोग गर्न आग्रह गरेका थिए।
‘सभापतिज्यूले चौधौं महाधिवेशनमा आफूले उम्मेदवारी दिन लागेको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुभएको थियो,’ उनले उकेरासँग भने, ‘हामीले पार्टीको सर्वसहमतिमा नेतृत्व चयन गर्नु उपयुक्त हुने सुझाव दियौं।’
सभापति देउवाले आफूपक्षीय केन्द्रीय सदस्यलाई मात्र छलफलका लागि बोलाएका थिए। भेटमा विजयकुमार गच्छदार, सुनिल थापा, डिला संग्रौला, भीष्मराज आङ्दम्वे, ज्ञानेन्द्रबहादुर कार्कीलगायत १२ केन्द्रीय सदस्य मात्र उपस्थित थिए।
केन्द्रीय सदस्य विश्वकर्माले कोरोना महामारी भएकाले सीमित केन्द्रीय सदस्यलाई मात्रै छलफलमा आमन्त्रण गरिएको दाबी गरे।
छलफलका क्रममा छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने चुनौती रहे पनि जुनसुकै हालतमा महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको बताएको भेटमा सहभागी नेता बताउँछन्।
असार ६, २०७८ आइतबार ००:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।