जसपा यादव समूहको आरोप– ठाकुर पक्षले निर्वाचन आयोगमा पेस गरेको निर्णय किर्ते

जसपा यादव समूहको आरोप– ठाकुर पक्षले निर्वाचन आयोगमा पेस गरेको निर्णय किर्ते

 काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले ठाकुर पक्षले निर्वाचन आयोगमा पेस गरेको पार्टीको निर्णय किर्ते भएको आरोप लगाएको छ। 

जसपाको यादव समूहमा रहेका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो। 

‘२०७७ पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको सम्पूर्ण निर्णय सोही दिन अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरी सकिएको छ।...केन्द्रीय कार्यकारिणीको हेरफेर तथा पुर्नगठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नै थिएन। र, त्यस्तो कुनै निर्णय भएको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी २०७८ असार १ गते झुठा विवरण लेखी किर्ते, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले आयोगमा पत्र दर्ता गराएका छन्।’

निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयारी गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय भएको विज्ञप्तिमा उल्लेख छ। 

जसपाको यादव समूह पार्टीको आधिकारिकता माग दाबी गर्दै हिजो आयोग पुगेपछि ठाकुर पक्षले आज कार्यकारिणी समिति हेरफेर गरी आयोगमा यसबारे जानकारी पत्र बुझाएको हो। 

जसपामा दुवै समूहले पार्टीकै लेटरप्याड, छाप प्रयोग गर्दै आएका छन्।

असार ५, २०७८ शनिबार २३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।