नेविसंघ महामन्त्री तिमल्सिनाद्वारा सिन्धुपाल्चोकमा स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण
‘कोभिड १९ विरुद्धको हाम्रो अभियान’अन्तर्गत महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुनमा सञ्चालित पालिकास्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकीलाई नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन)लगायत उपकरण र सामग्री हस्तान्तरण गरेका हुन्।
उनले हस्तान्तरण गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटरसँगै अक्सिजन नजल ट्युब, पिपिइ सेट, सर्जिकल मास्क, एन–९५ मास्क, फेससिल्ड, स्यानिटाइजर, ग्लोभ्सलगायत अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख रामप्रकाश यादवलाई हस्तान्तरण गरे।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उद्योग विभाग सदस्य वीरबहादुर भण्डारी, नेताहरू माधव भण्डारी, रामकुमार तामाङ, इकाइ सभापति रामकुमार रिसाललगायत नेबिसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ता उपस्थित थिए।

कार्यक्रममा महामन्त्री तिमल्सिनाले जिल्लाभर कोभिड महामारीसँगै अहिलेको विपत्ति विरुद्धको लडाइमा सशक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताए।
स्वास्थ्य कार्यालयका प्रमुख यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामीको उपचारमा सहज हुने बताए।
असार ५, २०७८ शनिबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।