निशाको उपचारमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आर्थिक सहयोग गर्ने
सङ्घका अध्यक्ष राजेन्द्र कार्कीले काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर निशाको उपचारमा आर्थिक अभाव हुन नदिने बताएका छन्।
सङ्घका तर्फबाट अध्यक्ष कार्की, महासचिव विक्रम जङ्ग शाह सहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनाले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई भेटेर केही आर्थिक सहयोग गर्दै थप आर्थिक जुटाइदिने आश्वासन दिएका छन्।
सङ्घको बिपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सङ्घका महासचिव शाहले निशा घिमिरे सङ्घकै सदस्य रहेको बताउँदै निशाको उपचार खर्च सङ्कलनका लागि पहल सुरु गरेको बताए। सङ्घले आफ्ना सदस्यहरूलाई आपत् पर्दा विगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको भन्दै निशालाई पनि सहयोग उपलब्ध गराइदिने आश्वास उनले दिएका छन्।
शाहले भने,‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो सङ्घको ७४ जिल्लामा शाखा रहेको छ। ती शाखाहरूबाट के कति सकिन्छ, निशाको उपचार र उपचारको क्रममा विगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक सङ्कलन पहल सुरु गरेका हौँ।’
असार ४, २०७८ शुक्रबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।