जसपा कार्यकारिणी समिति बैठक : निर्वाचन आयोग फेरि जाने, लुम्बिनीका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव बाबुराम भट्टराई पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा फेरि जाने निर्णय गरेको छ।
केन्द्रिय कार्यकारीणी समिति बैठकको आज बसेको बैठकले आयोगले सुझाएको नयाँ प्रावधान बमोजिम पार्टीको आधिकारिकताका लागि पुनः आयोगमा जाने निर्णय गरेको हो।
पार्टी संयोजक डा. बाबुराम भट्टराईले केन्द्रीय कार्यकारिणी समिति बैठकले आधिकारिकता विवाद निरुपणका लागि आयोग जाने निर्णय गरेको जानकारी दिए।
‘यसअघि पार्टी पदाधिकारी हेरफेर भएको सम्बन्धमा राजनीतिक दलसम्बन्धी ऐनको धारा ५१ बमोजिम गएका थियौं,’ उनले भने, ‘अब धारा ४३ र ४४ बमोजिम कार्यकारिणी परिषद्मा रहेको बहुमतलाई लिएर आयोग समक्ष जाने निर्णय भएको छ।’
बैठकले लुम्बिनी प्रदेशमा प्रदेशसभा संसदीय दलको ह्विपलाई उल्लघंन गरेर मन्त्री बनेका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको उनले जानकारी दिए।
यसअघि कार्यकारिणी समितिको बहुमतबाट उनीहरुलाई निष्कासनको निर्णय गरेको थियो। उनीहरू सर्वोच्च अदालतको निर्णयबाट पुनर्बहाली भएका थिए।
बैठकले सरकारले बजेटमा व्यवस्था गरेको चुरे क्षेत्रको गिटी बालुवा निकासी गर्ने विषय फिर्ता लिन आग्रहसमेत गर्ने भएको छ। साथै देशभर आएको बाढी पहिरोका कारण पीडित बनेकाको उद्धार गर्न तथा राहत वितरणमा पार्टीलाई परिचालन गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए।
असार ३, २०७८ बिहीबार २१:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।