काठमाडौँ महानगरले विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने

काठमाडौँ महानगरले विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने

काठमाडौं: काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममा विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने नीति ल्याएको छ। असार ३ गते महानगर प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगर सभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ। नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माण गर्ने पनि उल्लेख गरिएको छ। नीति–तथा कार्यक्रममा ‘काठमाडौँ महानगर विशेष अस्पताल’ लगायतका महत्त्वाकाङ्क्षी कार्यक्रम राखिएको छ।

महानगरले घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिने नीति सार्वजनिक गरेको छ। यसका लागि बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्नुपर्ने छ।

नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ ।

‘कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न एक सय  बेडको काठमाडौँ महानगर विशेष अस्पताल निर्माण गरिने छ।'

महानगरले एक वडा एक नमुना विद्यालय कार्यक्रम’ कक्षा ४ देखि नैतिक शिक्षा दिने नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकूल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गर्ने र महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयको रूपमा नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइने उल्लेख छ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाको अतिरिक्त प्रोत्साहन स्वरूप मासिक रु. १००० उपलब्ध गरिने उल्लेख छ।

नीति तथा कार्यक्रममा ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ अघि सारेको छ। जस अन्तर्गत छनौट भएका ३२ नमुना विद्यालयहरूलाई नमुना सिकाई केन्द्र र तालिम हबका रूपमा विकास गरिने उल्लेख छ। 

असार ३, २०७८ बिहीबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।