सिन्धुपाल्चोक बाढी : मृतकको संख्या तीन पुग्यो
काठमाडौं : सिन्धुपाल्चोकमा गत मंगलबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
बाढीमा हराइरहेकामध्ये बिहीबार थप एक जनाको शव भेटिएपछि मृतकको संख्या तीन पुगेको हो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बाढीमा हराइरहेका भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको जानकारी दिए।
यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिएकाे उनले बताए।
यी तीन जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए।
घटनामा १३ जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। बेपत्ता भएकाको खोजी जारी रहेको उनको भनाइ छ।
उनले बेपत्ता भनिएकामध्ये ५ जना काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार गरिरहेको भेटिएको बताए।
पहिरोको कारण थुनिएको मेलम्ची नदीको बाँध फुटेर हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पसेको थियो।
असार ३, २०७८ बिहीबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।