मेलम्ची बाढी : भारतीय र चिनियाँसहित २० जना बेपत्ता
काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार राति आएको बाढीमा भारतीय र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका वडा नम्बर २, का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ३ की ५० वर्षीया साइली तामाङ, वडा नम्बर ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन्।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे बेपत्ता भएको प्रशासन कार्यालयले जनाएको छ।
बाढीमा भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता भएका छन्।
हालसम्म बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले उद्दार गरेको प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, बाढीमा परेर ५ जना घाइते भएकोमा १ जना चिनियाँ नागरिक उपचारपछि फिर्ता भइसकेको विज्ञप्तिमा उल्लेख छ।
बाढीबाट ज्यान गुमाएका एक जनाको शव भेटिएको छ। प्रशासन कार्यालयका अनुसार मृतकको पहिचान खुल्न नसकेको छैन।
बाढीमा परेर मेलम्ची नगरपालिकाका अन्दाजी ६ सय जना र हेलम्बु गाउँपालिकाका अन्दाजी ३ सय स्थानीय प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।
असार ३, २०७८ बिहीबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।