काँग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल गर्दै
काँग्रेस पदाधिकारी बैठकले प्रस्ताव गरेको कार्यतालिका हेरफेरको प्रस्तावमा छलफल गर्न दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न लागेको काँग्रेसले जनाएको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पछिल्लो पटक बसेको पदाधिकारी बैठकले भदौ ७ गतेदेखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न प्रस्ताव गरेको थियो। बैठकमा पार्टीको महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक विषयमा छलफल हुने काँग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
काँग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अझै सकिएको छैन। सिन्धुपाल्चोक, सप्तरी, बर्दिया सहित ७ जिल्लाको क्रियाशील सदस्यता वितरण र नवीकरण टुङ्गो लाग्न बाँकी छ।
अहिलेसम्म झन्डै ९ लाख क्रियाशील सदस्यता केन्द्रीय कार्यालयमा इन्ट्री भइसकेको मुख्य सचिव पौडेलले बताए। कोरोना महामारीका कारण तहगत अधिवेशनमा हेरफेर गरेर भए पनि भदौमा महाधिवेशन गर्न काँग्रेस नेतृत्वलाई दबाब छ। काँग्रेसलाई भदौ २३ भित्रै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने संवैधानिक बाध्यता छ।
असार ३, २०७८ बिहीबार ०९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।