बाढी–पहिरो : ६ जनाको मृत्यु, २८ बेपत्ता (अपडेट)

बाढी–पहिरो : ६ जनाको मृत्यु, २८ बेपत्ता (अपडेट)

गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा २, कास्की, पाल्पा, बाजुरा र डोटीमा  १/१ गरी ६ जनाको मृत्यु भएको हो। 

यस्तै, बाढी पहिरोमा परी २८ जना बेपत्ता भएका छन्। मन्त्रालयका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी १७ जना छन्। यस्तै, जाजरकोटमा ७, बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा १/१ जना बाढी पहिरोमा परी बेपत्ता भएको मन्त्रालयले जनाएको छ। 

बाढी पहिरोमा परी ११ जना घाइते भएका छन्, जसमा सिन्धुपाल्चोकका ६, डोटी र जुम्लाका २/२ र स्याङ्जाका १ जना छन्। तीमध्ये सिन्धुपाल्चोकका घाइतेलाई हेलिकप्तरबाट उद्दार गरी ललितपुरको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

बाढी पहिरोबाट ८९ घर पूर्ण र २६ घर आशिंकरुपमा क्षति भएको छ। यस्तै, बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकमा ४६ र दाङमा ४ जनालाई सकुशल उद्दार गरिएको मन्त्रालयले जनाएको छ। 

असार ३, २०७८ बिहीबार ००:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।