एमालेमा नयाँ विवाद: झलनाथ खनालको विज्ञप्ति सक्कली कि नक्कली !
काठमाडौँ : एमाले नेता झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल भएर उपचारका लागि दिल्ली गए लगत्तै उनको नाममा जारी भएको विज्ञप्तिले माधव नेपाल समूहमा तरङ्ग ल्याएको छ। पार्टीमा बढिरहेको वादविवाद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग पुग्ने गरी उनको नाममा विज्ञप्ति जारी भएको थियो।
प्रधानमन्त्री ओलीको कदम विरुद्ध निकै आक्रामक हुँदै आएका खनालको नाममा जारी भएको विज्ञप्तिको भाषा यस अगाडि ओली समूहका नेताहरूबाट जारी हुने शैलीको भाषा प्रयोग भएको छ। यसलाई नेपाल समूहका नेताहरूले नक्कली विज्ञप्ति भएको दाबी गरेका छन् भने ओली समूहका नेताहरूले खनालकै सहमतिमा ड्राफ्ट भएको र उनकै अनुमतिमा जारी भएको दाबी गरेका छन्।
उनको हस्ताक्षरसहित जारी भएको विज्ञप्तिमा 'रिस, राग, अहङ्कार र बदलाको भाव त्यागेर पार्टीको वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न' नेता कार्यकर्तालाई विशेष आव्हान गरिएको छ।
विज्ञप्तिमा पार्टीलाई फुटतर्फ धकेलिइन धैर्य र संयमताका साथ एकता जोगाउने प्रयत्न गर्न आव्हान समेत गरिएको छ। टुटफुट र विभाजनको साटो एकता गर्ने गराउने कार्यमा अगाडि बढ्न आव्हान गरिएको छ।
कोरोना निको भएर घर फर्किएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि बुधवार मात्रै उनी उपचारका लागि दिल्ली गएका थिए। निरन्तर ज्वरो आएपछि जेठ ३१ मा नर्भिक अस्पताल भर्ना भएका थिए। उनी दिल्ली जानु अगाडि एमाले महासचिव ईश्वर पोखरेलले अस्पतालमै भेटेका थिए। भेटमा खनालले पार्टी एकता जोगाउन आग्रह गरेको समाचार सार्वजनिक भएका थिए।
एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले आफ्नो फेसबुक पेजमा' स्वदेशमा उपचार नहुने परिस्थितिमा विदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तव्य जारी' भएको दाबी गरेका छन्।
उनले श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा खनालले यस्तो वक्तव्य लेख्ने कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै वक्तव्यमा उल्लेखित बिचार खनालको बिचारसँग मेल नखाने दाबी समेत गरेका छन्।
'उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैमा रहस्यमय छ। पार्टीमा एकता गर्नको लागि खनालको वक्तव्यको चालबाजी रची कार्यकर्तालाई दिग्भ्रमित पार्नु नै पर्दैन। सर्वोच्चको फैसला, आदेश र विधानको व्यवस्था बमोजिम खुला संवाद गर्दा हुन्छ। बिग्रेको सच्याउँछु भनी सच्याउँदा हुन्छ। एजेन्डाहरू सम्बोधन गर्दा हुन्छ। यस्तो नाटक गरिरहनु पर्दैन' उनले लेखेका छन्।
उनले खनालले खण्डन गर्नु भएमा यो नाटक बन्द हुने तर खनाल अशक्त रहेको भन्दै नेताको बिरामी अवस्थालाई कसैको राजनीतिक स्वार्थको घैँटो भर्नका लागि अपमान नगर्न आग्रह गरेका छन्।
असार २, २०७८ बुधबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।